इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने क्रममा १३ किलो गाँजा र १५ हजार प्रतिबन्धित लागूऔषध ट्याब्लेट बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको सुरक्षा कारबाहीका क्रममा उक्त लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–५ स्थित पालटोल क्षेत्रबाट १३ किलो गाँजा बरामद गरिएको हो । त्यस्तै, हरिनगर गाउँपालिका–७ स्थित खान चोकमा विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको प्रतिबन्धित लागूऔषध ट्याब्लेट बरामद गरिएको छ ।

बीओपी घुस्की र प्रहरी चौकी घुस्कीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा प्र.१–०२–००४ ह १०५२ नम्बरको सिटी सफारी बाटोमै छाडेर चालकसहित तीन जना फरार भएका थिए ।

सिटी सफारीमा खानतलासी गर्दा अन्दाजी एक लाख ६९ हजार ७४४ रुपैयाँ मूल्य बराबरको स्पामोप्रोक्सीभेन नामक लागूऔषध एक हजार ५०० पत्ता अर्थात् १५ हजार ट्याब्लेट बरामद भएको हो । 

घटनामा प्रयोग भएको सिटी सफारी, त्यसको ब्लुबुक र मोटोरोला कम्पनीको मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै घटनामा बरामद गाँजा, लागूऔषध ट्याब्लेट, सवारी साधन तथा अन्य सामग्री आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।