विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकामा नौ वर्षदेखि सञ्चालन हुँदै आएको आवासका लागि सहयोग समूह (लुमन्ती)को परियोजना सम्पन्न भएको छ । परियोजना सम्पन्न भएसँगै संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा उपलब्धिबारे सामाजिक परीक्षणसमेत सम्पन्न गरेको छ । 

स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालन गरिएको परियोजनाले सीमान्तकृत तथा विपन्न समुदायको जीवनस्तर सुधार, सुरक्षित आवास निर्माण, स्वास्थ्य तथा सरसफाइ, खानेपानी, भौतिक पूर्वाधार र समुदायको क्षमता अभिवृद्धिमा काम गरेको हो ।

लुमन्तीका अनन्त बज्राचार्यका अनुसार नगरपालिकाले पहिचान गरेका सीमान्तकृत समुदायलाई लक्षित गरी परियोजना सञ्चालन गरिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी, पहिरो, नदी कटानलगायतका समस्या बढ्दै गएकाले जोखिम न्यूनीकरण र समुदायलाई उत्थानशील बनाउने विषयमा पनि नगरपालिकासँगको सहकार्यमा काम गरिएको उहाँले बताउनुभयो ।

संस्थाकी फिल्ड संयोजक लक्ष्मी राईले साझेदार संस्था सेलावीप तथा पीन नेपालको सहकार्यमा आवास निर्माण, महिला तथा युवा लक्षित कार्यक्रम, स्वास्थ्य, सरसफाइ, भौतिक पूर्वाधार र समुदाय सशक्तिकरणका विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो । सुरुमा तीन वर्षका लागि आएको परियोजना स्थानीय सरकारको प्रत्यक्ष सहयोग र समन्वयका कारण नौ वर्षसम्म सञ्चालन गर्न सफल भएको उहाँको भनाइ थियो ।

नौ वर्षको अवधिमा लुमन्तीले स्थानीय सरकारसँगको सहकार्यमा सडकमा ड्रेन निर्माण, खानेपानीका धारा जडान तथा सुरक्षित आवास निर्माण र स्तरोन्नतिअन्तर्गत २५२ वटा घरमा सहयोग गरेको जनाएको छ । यसका साथै समुदायलाई सङ्गठित गर्दै विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धिका तालिमसमेत सञ्चालन गरिएको थियो ।

परियोजना समापनका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले लुमन्तीले भौतिक पूर्वाधार निर्माणसँगै समुदायको क्षमता अभिवृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । संस्थाले दिएको ज्ञान, सीप र उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय समुदायले सिकेका सीप र ज्ञानलाई निरन्तर उपयोग गर्न आग्रह गर्नुभयो ।

लुमन्तीको सहकार्यमा गठन भएका जागृत युवा समूह तथा समावेशी महिला बचत तथा ऋण सहकारी संस्थालाई आगामी दिनमा पनि निरन्तरता दिन नगरपालिकाले सहयोगी भूमिका खेल्ने नगरप्रमुख गुरागाईंले बताउनुभयो । सीप र क्षमता विकास गरिसकेका समुदायका संस्थालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै श्याम बिकले आफ्नो टोलमा लुमन्तीसँग ६५ सुकुम्बासी घरपरिवार जोडिएपछि बस्तीको विकाससँगै स्थानीय बासिन्दाको सोच र मानसिकतामा समेत परिवर्तन आएको बताउनुभयो । निरन्तर तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन हुँदा समुदायका धेरै व्यक्तिको जीवनस्तरमा सुधार आएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, राधिका परियारले लुमन्तीले घरदैलोमै पुगेर समूह गठन र बचत गर्ने बानीको विकास गराएको स्मरण गर्नुभयो । संस्थाले सुरुवाती चरणमा १० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गर्दै उहाँले मासिक १० रुपैयाँबाट सुरु भएको बचत अभियान अहिले ८६१ सदस्यसहित करिब दुई करोड रुपैयाँको आर्थिक कारोबार गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।

विगतमा आपतविपत् पर्दा सानो रकमका लागि समेत अरूसँग हारगुहार गर्नुपर्ने र धितो राख्ने सम्पत्तिसमेत नहुँदा समस्या भोग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उहाँले अहिले सहकारीमार्फत् आवश्यक परेको समयमा आर्थिक सहयोग लिन सक्ने अवस्था बनेको बताउनुभयो । यस परिवर्तनको मुख्य आधार लुमन्तीले समुदायमा सुरु गरेको बचत तथा समूह परिचालन अभियान भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा परियोजना सञ्चालनमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । नौ वर्षसम्म परियोजना सञ्चालनमा निरन्तर सहयोग गरेको भन्दै नगरपालिकाका तर्फबाट समेत लुमन्ती संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन वर्षा निरौलाले गर्नुभएको थियो ।