बिर्तामोडः  जनताका समस्या, गुनासा र अपेक्षा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा शुरु गरेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले मंगलबार बिहान झापाको भद्रपुरस्थित मेची पुलबाट पदयात्रा शुरु गरेका हुन् । पदयात्रामा रास्वपाका नेता, कार्यकर्ता, शुभेच्छुक तथा प्रतिनिधिसभा सदस्यहरूको समेत सहभागिता रहेको छ ।

करिब दुई महिना लामो यात्राका क्रममा सिंहले पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम छ । नागरिकका दैनिक समस्या, सरकारी सेवा प्रवाहप्रतिको गुनासो, विकास निर्माणका अपेक्षा तथा समसामयिक विषयबारे जानकारी लिने उनको योजना छ ।

सिंहले जात, धर्म, वर्ग र भूगोलका आधारमा समाजमा देखिएका विभाजन अन्त्य गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन् ।

पदयात्राको औपचारिक उद्घाटन सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा रास्वपा सभापति रवि लामिछानेले गरेका थिए । उद्घाटन कार्यक्रममा सिंहले मेची नदीको किनारबाट शुरु भएको यात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर समापन हुने जानकारी दिएका थिए ।

उनका अनुसार यो अभियान पूर्वदेखि पश्चिमसम्म पैदल यात्रा गर्ने कार्यक्रम मात्र नभई नागरिकका आवाज सुन्ने, उनीहरूका समस्या बुझ्ने र सामाजिक एकताको सन्देश प्रवाह गर्ने प्रयास हो ।

पदयात्राका क्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्ति र सर्वसाधारणसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।