काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार हुने खेलमा दुवै टोलीले फाइनल प्रवेश गर्ने लक्ष्य राखेका छन् ।
पहिलो क्वालिफायरका लागि लुम्बिनीले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन । नियमित कप्तान रोहितकुमार पौडेलकै नेतृत्वमा लुम्बिनी मैदान उत्रिएको छ ।
यता, सुदूरपश्चिमले भने आफ्नो प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ । फाबियन एलन र ब्रान्डन म्याकमुलनको स्थानमा थानुका मधुसुधन र जर्ज मुन्सेले मौका पाएका छन् । यस्तै, दीपक बोहराको स्थानमा अभिनाश बोहरा टोलीमा फर्किएका छन् ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीको भने उपाधि यात्राको सम्भावना समाप्त हुनेछैन । उसले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीले बुधबार हुने चितवन राइनोज र काठमाडौं गोर्खाजबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।


















