काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको छ । 

सुदूर पश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाए । दीपेन्द्रबाहेक इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।

सुरुवातदेखि नै दबाबमा परेको सुदूर पश्चिमले पहिलो ओभरको पहिलो बलमै जर्ज मुन्सेलाई गुमाएको थियो । रुबेन ट्रम्पलम्यानको बलमा मुन्से खाता नखोली रोयल डक भएका थिए । 

त्यसपछि विनोद भण्डारी र थानुका दबारे पनि सस्तैमा आउट भए । विनोद ३ रन र थानुका ३ रनमा पेभेलियन फर्किएपछि सुदूर पश्चिम ३.१ ओभरमा ८ रन जोड्दा ३ विकेटको क्षतिमा पुगेको थियो ।

त्यसपछि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ५६ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले । उनीहरूको साझेदारीले सुदूर पश्चिमलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो ।

इशान २७ रन बनाएर १५ औँ ओभरमा आउट भए । त्यसपछि पनि दीपेन्द्रले इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । तर, २० औँ ओभरको दोस्रो बलमा उनी शेर मल्लको बलमा डार्सी सर्टबाट क्याच आउट भए । दीपेन्द्रको विकेट खस्दा सुदूर पश्चिमको स्कोर १०१ रन थियो ।

स्कट कुगेलेइन ७ रनमा रनआउट भए भने अनिल खरेल २ रनमा अविजित रहे । आरिफ शेखले ४ र थारिन्दु रत्नायकेले १ रन बनाए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए । ट्रम्पलम्यानले ४ ओभरमा १४ रन खर्चिए भने मल्लले ४ ओभरमा २७ रन दिए । अभिशेष गौतमले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट हात पारे ।

आजको खेल जित्ने टोली सिधै एनपिएलको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

भोलि काठमाडौं गोर्खाज र चितवन राइनोजबीच एनिमेटर खेल हुनेछ । सो एनिमेटरका विजेताले आजको खेलको पराजित टोलीसँग दोस्रो क्वालिफायरमा भेट गर्नेछ ।