इटहरी ।  शुक्रबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित शुक्रबारे खेलमैदानमा तेस्रो वडाध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

शुक्रबारे फुटबल क्लबको आयोजनामा मंसिर ११ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सो प्रतियोगितालाई सुन्दरहरैँचा नगर खेलकुद विकास समिति र वडा नम्बर १२ ले प्रवद्र्धन गर्ने भएका छन् ।

१८ वटा विद्यालयले भाग लिने सो प्रतियोगिता १५ वर्षमुनिका खेलाडीलाई लक्षित गरी आयोजना गर्न लागिएको खेल संयोजक टीकाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा आकर्षित गर्दै नयाँ फुटबल खेलाडी उत्पादन गर्नुका साथै युवालाई कुलतबाट जोगाई खेलकुदमा सक्रिय बनाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका–१२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले शुक्रबारे खेलमैदानमा रात्रिकालीन फुटबल खेल सञ्चालन गर्न बत्ती जडानको काम भइरहेको बताउनुभयो ।
विशेष अतिथि एन्फा मोरङका उपाध्यक्ष प्रकाश मास्केले खेलमैदानलाई पुनर्जीवन दिने प्रयास गरेको भन्दै वडाध्यक्ष ढकालको प्रशंसा गर्नुभयो । उहाँले फुटबलको विकासका लागि विद्यालय तहदेखि नै ग्रासरुट फुटबललाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष जय नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।