लेटाङ । मोरङको लेटाङमा प्राज्ञ लक्ष्मी उप्रेतीसहित स्थानीय स्रष्टा, साहित्यकार तथा कलाकार गरी ९ जनालाई विशेष सम्मान गरिएको छ ।
लिटिल फ्लावर्स बोर्डिङ स्कुलको आयोजना तथा लेटाङ साहित्य कला संगमको सहकार्यमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी संस्थापक सिर्जना देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर निवासी प्राज्ञ लक्ष्मी उप्रेतीलाई दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा लेटाङ साहित्य कला संगमका सल्लाहकार कमल अधिकारीले सम्मानित व्यक्तित्व प्राज्ञ लक्ष्मी उप्रेतीको व्यक्तित्व तथा साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो ।
लेटाङका पूर्वजनप्रतिनिधि तथा समाजसेवी चन्द्र गौतम, साहित्यकार विश्व पागल, मूर्तिकार श्रीप्रसाद किराती, साहित्यकार डिल्लीराम ओझा, मूर्तिकार ओमप्रकाश विश्वकर्मा, काष्ठ कलाकार मणिहर्क राई, सङ्गीतकार प्रह्लाद बोगटी र साहित्यकार विष्णु न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बराल, विशिष्ट अतिथि लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला तथा विद्यालयकी संस्थापक सिर्जना देवकोटा लगायतले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
लेटाङ साहित्य कला संगमका सचिव पर्शुराम निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीका न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै सामुहिक गायनमार्फत् साङ्गीतिक प्रस्तुति दिएका थिए ।


















