इटहरी । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात् काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गरिएको हो ।
स्थानीय बासिन्दाहरूले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानप्य बासिन्दाहरूले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नछन् । स्थानीय बासिन्दाहरूले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


















