इटहरी । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को वरीयताक्रम हेरफेर गरिएको छ । नयाँ वरीयताअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छिन् ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को वरीयताक्रम परिवर्तन गरिएको हो ।
यसअघि सातौँ वरीयतामा रहेकी गौतम एकैपटक चार स्थान माथि उक्लिँदै तेस्रो वरीयतामा पुगेकी हुन् ।
नयाँ मर्यादाक्रममा प्रधानमन्त्री शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् ।
यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन् । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ र गृहमन्त्री सुधन गुरुङ छैटौँ स्थानमा रहेका छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई सातौँ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आठौँ वरीयतामा राखिएको छ ।
१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ ।


















