विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय र यु.एन.एफ.पि.ए. नेपाल शिक्षा, अनुसन्धान तथा मातृशिशु स्वास्थ्यका क्षेत्रमा रणनीतिक साझेदारीतर्फ अघि बढेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय र यु.एन.एफ.पि.ए.नेपालबीचको दोस्रो चरणको छलफल उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाको अध्यक्षतामा उपकुलपतिको कार्यालयमा सम्पन्न भयो ।
यु.एन.एफ.पि.ए. का यस.आर.एच.आर (यौन तथा प्रजनन स्वास्थ्य र अधिकार) सल्लाहकार डा. श्रीजित इ. एम. र लैङ्गिक महाशाखाका श्री समीर घिमिरे सम्मिलित प्रतिनिधिमण्डललाई स्वागत गर्दै उपकुलपतिले यसअघि यु.एन.एफ.पि.ए. का कन्ट्री प्रतिनिधि श्री श्रीराम हरिदाससँग भएको रचनात्मक संवादको स्मरण गर्नुभयो ।
उहाँले पूर्वाञ्चल विश्वविद्यालय र ग्यु.एन.एफ.पि.ए. बीच प्रस्तावित साझेदारीलाई विश्वविद्यालयमा आधारित ज्ञान, अनुसन्धान र व्यावसायिक शिक्षालाई यु.एन.एफ. पि.ए. को प्राविधिक विज्ञतासँग जोड्ने एक महत्त्वपूर्ण कदमका रूपमा चर्चा गर्नुभयो, जसले विश्वविद्यालय र समाजका लागि अर्थपूर्ण नतिजा ल्याउन मद्दत पु¥याउनेछ ।
उक्त बैठकमा मानविकी, शिक्षा तथा कानुन संकायका डीन प्रा.डा. कृष्ण प्रसाद पाण्डे, चिकित्सा संकायका डीन प्रा. डा. परिचा उपाध्याय, योजना महाशाखा प्रमुख प्रा. राम प्रसाद ढकाल र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रमेशबाबु काफ्लेको पनि उपस्थिति थियो ।
दुवै संस्थाले शैक्षिक आदानप्रदान, अनुसन्धान सहकार्य, प्राविधिक सहयोग र संस्थागत क्षमता विकासका माध्यमबाट सहकार्यलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे ।


















