काठमाडौं । पाकिस्तानमा बाढी र वर्षाका कारण हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाख भन्दा बढी मानिसहरू कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।
बीबीसी उर्दूको समाचार अनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन् । एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ । अर्कोतर्फ खैबर पख्तुनख्वाका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन् ।
जनसंख्याको हिसाबले पाकिस्तानको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिसको जनजीवन प्रभावित भएको छ ।
यद्यपि यी केन्द्रीय तथ्याङ्क हुन्, तर राज्य सरकारले सिन्ध प्रान्तमा बाढी र वर्षाबाट प्रभावित हुनेको संख्या योभन्दा धेरै रहेको बताएको छ ।
एनडीएमए प्रतिवेदनका अनुसार बाढी र वर्षाका कारण सात लाख आठ हजारभन्दा बढी पशुपक्षी डुबेका छन् । यसबाहेक धेरै ठाउँमा सडक पनि बगेको छ ।


















