ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
सोमबार देखि परेको अविरल वर्षाका कारण सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलवार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते घाइते भएका छन् ।
बस्ती भन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोम बहादुर खत्रीको तीन तला आधाको पक्की घरमा क्षति पुगेको छ । पहिरोले घरको बिच तलाको पछाडि भाग भत्किँदा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ वर्षीय नितेश राई घाइते भएका छन् ।
यस्तै पहिरोले स्थानीय पेशल खत्रीको तीन तले पक्की घरको पछाडीको भागमा क्षति पुग्दा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा भाडामा बस्ने मोलुङ गाउँपालिका–५ की २९ वर्षीय नबिना धमला सामान्य चोट लागि घाइते भएकी छन् ।
सुनकोसी गाउँपालिकाका कोल बहादुर खत्रीले कुखुरा फार्म पहिरोले पुरिदा ७० वटा भन्दा बढी कुखुरा मरेर एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यस्तै स्थानीय ३२ वर्षीय सोम बहादुर कटवालको ढुङ्गा माटोले बनेको एक तले कच्ची घर पहिरोको उच्च जोखिममा परेको छ । प्रारम्भिक अनुमान अनुसार पहिरोले एक करोड एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

















