विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्धमा परेको रिट निवेदन उपरको अन्तिम फैसला बुधबार ९आज० आउन सक्ने देखिएको छ । वादीका तर्फको बहस मङ्गलवार नै सकिएको र प्रतिवादीका तर्फबाट पनि बहस चलिरहेकाले आज नै बहस सकिएर फैसला आउने देखिएको हो ।
प्रतिवादीहरूका तर्फबाट बहसमा गर्न नाम लेखाएका कानुन व्यवसायीहरूको बहस नसकिएकोले बुधवार खाजा समय अघिसम्म बहस सक्ने तयारी गरिएको जनाइएको छ ।
बुधवार बिहान ११ः३० देखि १ः०० बजेसम्म प्रत्यर्थी तर्फका थप कानुन व्यवसायीले बहस गर्ने र त्यसपछिको खाजा समय सकेर ३ बजेसम्म रिट निवेदक कार्कीका तर्फबाट जवाफ दिने गरी पूर्ण इजलासले समय निर्धारण गरेको जनाइएको छ ।
मङ्गलवार रिट निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, डा। भीमार्जुन आचार्य, बद्रीबहादुर कार्की, डा। सुरेन्द्र भण्डारी, माधव बास्कोटा, कृष्णभक्त पोखरेल, अधिवक्ता डा। कुमार आचार्य र उषा पाठक मल्लले बहस गरेका थिए ।
त्यसै गरी विपक्षीहरू कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीव रेग्मी र विश्व कोइराला, डा टेकबहादुर घिमिरे र उपन्यायधिवक्ता राजेन्द्र बस्नेतले बहस गरेका थिए ।
कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेश सरकार गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । असार २२ गते हालिएको रिट निवेदनका विषयमा हिजोबाट पूर्ण इजलासबाट सुनुवाइ भइरहेको छ ।

















