काठमाडौँ । नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई  देशभर सार्वजनिक बिदा दिएको हो। 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको  मंगलबार बिहान निधन भएको हो। 

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित  नेम्वाङको निवासमा राखिने छ ।

नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने नेकपा एमालेले जनाएको छ ।