कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढा रहेकी छिन् । 

 उनको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  आज बिहान ८ बजेतिर च्याउ टिप्न गएको बेला गैँडाको आक्रमण परेर बेलमतीको घटनास्थलमै मृत्यु भएको हो । 

ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् । 

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।