काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमान खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो ।
अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोटेक्सी एयरलाइनले एक बयान जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।