विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा नगरका उद्योगी, व्यवसायी तथा मजदुरलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै टिटनास (टीटी) खोप लगाइएको छ ।

संघको आयोजना तथा सुकुना सामुदायिक अस्पताल र लोक मेडिकल क्लिनिक एन्ड ल्याब, सुन्दरहरैंचा–१० विराटचोकको सहकार्यमा भएको कार्यक्रममा निःशुल्क सुगर तथा रक्तचाप परीक्षण, टीटी खोप र जनरल फिजिसियनबाट स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।

नगर क्षेत्रमा रहेका ग्रील उद्योग, फर्निचर तथा हार्डवेयर पसलमा कार्यरत मजदुर, व्यवसायी तथा सञ्चालकलाई लक्षित गरी खोप कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

कामका क्रममा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले मजदुर तथा व्यवसायीलाई टिटनासबाट सुरक्षित राख्ने उद्देश्यले टीटी खोपसमेत सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

अहिले टीटी खोप लगाएकालाई आगामी महिनामा पुनः खोप लगाइने र त्यसपछि एक वर्षमा अर्को मात्रा लगाउने व्यवस्था मिलाइएको जनाइएको छ ।