इटहरी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २-२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १-१ विकेट लिए ।
जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे ।
कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २-२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए ।जित पछि शीर्ष स्थानमा रहेको कोलकत्ताको १२ खेलमा १८ अंक रहेको छ । पराजित मुम्बईले भने १३ खेल खेल्दै ८ अंक मात्र बटुलेको छ ।
आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल भिड्ने छन् भने बेलुका ७:४५ बजे रोयल च्यालेनजर्स बेंगलूरु र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

















