इटहरी डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् । पार्टीले कारबाही गर्दै निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको दाबी गरेका छन् ।
‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ । बालहठ जस्तो होस् , अस्वाभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ’, उनले लेखेका छन्, ‘प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । जनताको पक्षमा बोल्न पर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ ।’
रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको थियो । सभापति रवि लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा गलत लाग्दा लाग्दै पनि आफूले मानिदिएको उनले बताएका छन् । ‘प्रचण्डसँग सहमति गरेर आइसकेपछि, सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिएँ, मैले सोचें, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ’, उनले लेखेका छन्, ‘तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ।’
पद गौण भएकाले जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफू बोलेको डा. ढकालको जिकिर छ । ‘सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ । मलाई शंका लाग्यो, प्रतिवेदनलाई फास्सफुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्’, उनले लेखेका छन् ।

















