सुनसरी – सरकारले नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिने र कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नुपर्ने परम्पराअनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद्को अस्ति सोमवार बसेको बैठकले सिग्देललाई आउँदो साउन २४ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको छ । प्रधानसेनापति शर्माको भदौ २४ मा तीन वर्षे कार्यकाल सकिनेछ र त्यसपछि सिग्देलले आउँदो तीन वर्ष प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गर्नुभएको छ । यसअघि उहाँले सेनाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सिग्देलको नागरिकता र शैक्षिक पत्रमा त्रुटि रहेको अरोप लागे पनि उहाँको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नरहेको भन्दै उपरथीबाट रथीमा बढुवा गरिएको थियो । त्यसपछि उहाँको प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।