बुटवल । बुटवल–१३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक बुटवल उपमहानगरपालिका–१३ का २३ वर्षीय अंकृत पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए । दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते छन् ।

मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

ट्रक दुर्घटनामा चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिक –५ मा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट १५÷२० मिटरतल खसी दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट्रकभित्र नै चेपिन गई चालक राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।