काठमाडाैं ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।

‘यो तापक्रम वृद्धिकै कारण यस्तो भएको हो। यसमा दुईमत छैन। ठयाक्कै कति भयो, विगतमा कति थियो? यो बाँकि रहेको समयमा पनि हामीले नापेर हेर्छौँ। अन्य ठाउँमा पनि नापेको हिसावबाट विस्तृत अध्ययनबाट त्यो थाहा पाउँछौँ। म आफैँ पनि गएको थिएँ। पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाईटमा एकदम गर्मी भइराखेको थियो। थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरूले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेत कालो, निलो खालको बादलहरु मडारिइरहेको कुराहरू गर्नुभयो,’ उनले भने।

हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको उनले बताए। तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उनको भनाइ थियो।प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए।