भोजराज घिमिरे ,विराटनगर

     कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कको माग राख्दै आमरण अनशनमा बसिरहेका छन्। मंगलबार प्रदेशसभा सचिवालय अगाडि अनशन बसिरहेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घर पठाए पनि, उनी पुनः फर्केर निषेधित क्षेत्र बाहिर अनशन जारी राखेका छन्। 

कार्कीलाई प्रहरीले राति ८ बजे पक्राउ गरी बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित उनको निवासमा लगेर छाडेको थियो। तर, उनी प्रदेशसभा सचिवालयबाट पूर्वतर्फ रहेको देवकोटा चोकमा पुनः अनशन बसेका हुन्। 

प्रहरीले अनशन स्थलमा बल प्रयोग गर्दा केही समर्थक घाइते भएका छन्। यसै क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज गरिएको थियो। 

कार्कीको अनशन स्थलबाट प्रहरीले १५ जना समर्थकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

कार्कीको माग पूरा नहुन्जेलसम्म अनशन जारी राख्ने अडान रहेको छ।