भोजराज घिमिरे 

सुनसरी, भदौ १४ – सप्तकोशी नदीमा पछिल्लो ५६ वर्षयताकै उच्च पानीको बहाव मापन गरिएको छ, जसले तराईका विभिन्न जिल्लालाई बाढी र कटानको उच्च जोखिममा पारेको छ। आज बिहान  सप्तकोशी नदीको बहाव ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक पुगेको छ, जुन १९६८ सालको अक्टोबर ५ मा मापन गरिएको ७ लाख ८८ हजार दुई सय क्युसेक पछिको सबैभन्दा उच्च मापन हो।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदीको जलस्तर खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको छ, जसले गर्दा उदयपुर, सुनसरी र सप्तरी जिल्लामा बाढी र कटानको जोखिम थपिएको छ। सप्तकोशी चतरा जलमापन केन्द्रले नदीको जलस्तर अझै बढ्दो क्रममा रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। होचा भूभागमा डुबानको सम्भावना बढेकाले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्न सुझाव दिइएको छ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। साथै, ब्यारेज हुँदै सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। पुलमाथिबाट नै पानी बग्न थालेपछि थप जोखिम टार्न प्रहरीले सवारीसाधन र मानिसहरूको आवागमनमा रोक लगाएको छ। सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीका अनुसार, अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजमार्फत आवागमन रोकिएको छ।

अहिलेसम्मको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहावको दर निरन्तर बढ्दो छ, जसले तराईका विभिन्न जिल्लामा थप जोखिम निम्त्याउने अनुमान गरिएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र प्रशासनका निर्देशन पालन गर्न आग्रह गरिएको छ।