विराटनगर - मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ११ वर्षीय बालक अनमोल राईको जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु भएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ निवासी राईको सोमबार बिहान निधन भएको अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिएका छन्।

तीन महिनाअघि ज्वरो, टाउको दुख्ने, वान्ता र बेहोसीका लक्षण देखिएका अनमोललाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा गरिएको परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको थियो। अस्पताल प्रशासनका अनुसार उनलाई करिब तीन महिनाअघि क्यूलेस जातको लामखुट्टेको टोकाइबाट यो रोग लागेको हुनसक्छ। लामो समयसम्म उपचार गर्दा पनि बचाउन नसकिएको र मस्तिष्कभित्रको नशाको पानी सुक्दा उनको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।

यसैबीच, उदयपुरकै बेलका नगरपालिकाका अर्का १४ वर्षीय बालक पनि सोही संक्रमणबाट ग्रसित भई भेन्टिलेटरमा उपचाररत रहेका छन्। उनको दुई महिनादेखि उपचार भइरहेको छ, र स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

जापानीज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो, जसले मस्तिष्कलाई असर गर्छ। यो रोगबाट बच्न सचेतना र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउन आवश्यक छ।