फिदिम - पाँचथरको सदरमुकाम फिदिममा आगलागीमा परी घाइते भएका एक वृद्धको उपचारका क्रममा निधन भएको छ। फिदिम नगरपालिका–२ निवासी ६२ वर्षीय जयप्रसाद राईको बिहीबार बिहानको राति कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो आफ्नै घरमा लागेको आगो निभाउने र सामान निकाल्ने क्रममा राई गम्भीर रूपमा घाइते भएका थिए। आगलागीपछि उनलाई तत्कालै फिदिमस्थित गणेशमान सिंह अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई बिर्तामोडको बी एन्ड सी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ पनि सम्भव नभएपछि थप उपचारका लागि बुधबार कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान १ बजे राईको मृत्यु भएको उनकाे परिवारले जनाएको छ। यस घटनामा राईको घरमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन भने प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।