कोशी, नेपाल – नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ। अधिकारीमाथि जापान भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै मानव तस्करी र सरकारी कागजात किर्तेको आरोप लागेको छ।

माओवादी केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा मानव तस्करी र नक्कली कागजातको गम्भीर छानबिनका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै तत्काल छानबिन प्रक्रियामा अघि बढ्न आग्रह गरेको छ। दलकी प्रमुख सचेतक गिता तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जापान भ्रमणसँगै मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र र अन्य विषय सार्वजनिक भएसँगै माओवादी केन्द्रको ध्यानाकर्षण भएको छ।”

माओवादी केन्द्रका अनुसार मन्त्री अधिकारीसँगै गएका व्यक्तिहरूले मन्त्रालयका कर्मचारीको नक्कली परिचयपत्र प्रयोग गरेका थिए, जसको आधारमा भिसा र हवाई टिकटको प्रबन्ध गरिएको थियो। विज्ञप्तिमा यो प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको अर्को रूप भएको आशंका व्यक्त गरिएको छ।

“नेपालबाट सिधै जापान उडान भएपनि हङकङ ट्रान्जिट उडान प्रयोग गर्नु, यो प्रकरण गम्भीर लापरबाही मात्र नभई उच्च पदस्थ व्यक्तिहरूको मिलेमतोमा भएको नक्कली शरणार्थी प्रकरणजस्तै देखिएको छ,” माओवादीको विज्ञप्तिमा उल्लेख छ।

सरकारले तत्काल यस घटनाबारे निष्पक्ष छानबिन गर्दै दोषी ठहर भएमा कानूनी कारबाही गर्न माओवादी केन्द्रले माग गरेको छ।