सुनसरी – २०७२ सालदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दोषी विनायककुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। यादव इनरुवा नगरपालिका–१०, बलाहाका बासिन्दा हुन्। उनी २०६९ सालमा झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए भने २०७२ सालमा भूकम्पको मौका छोपेर सिन्धुपाल्चोक कारागारबाट भागेका थिए।
२०६५ साल बैशाखमा यादवले सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए। त्यसपछि जिल्ला अदालत, सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिनको कैद सजाय सुनाएको थियो। तर, यादव दुई पटक जेलबाट भाग्न सफल भएका थिए र त्यसपछि भारतको सुपोलमा लुकेर बसेका थिए।
प्रहरीले छठ पर्व मनाउन नेपाल आउँदै गरेका बेला यादवलाई कोशी गाउँपालिका–८ पथरचट्टान क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा यादव भाग्न खोजेपछि प्रहरीको गोली लाग्नबाट जोगिए। उनलाई बाँकी सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ। अब यादवले कारागार ऐन २०१९ अनुसार बाँकी सजायमा डेढी थप भुक्तानी गर्नुपर्नेछ।


















