कोशी — किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। फाल्गुनन्दको योगदानको सम्मान स्वरूप कोशी प्रदेश सरकारले कात्तिक २५ गते सार्वजनिक बिदा दिएको छ भने संघीय सरकारले भने किराँत समुदायका लागि मात्र बिदा दिएको छ।
महागुरु फाल्गुनन्दको जन्म विक्रम संवत १९४२ साल कात्तिक २५ गते इलामको साविक इभाङ–५ चुक्चिनाम्बा गाउँमा भएको थियो। सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति, तथा समाज सुधारमा महत्वपूर्ण योगदान गरेका थिए। विशेष गरी किराँत समुदायको सांस्कृतिक र धार्मिक एकतामा बल पुर्याउन, तथा परम्परागत संस्कार र जीवनशैलीलाई जगाउन उनको प्रयास उल्लेखनीय मानिन्छ।
२०६६ साल मंसिर १६ गते नेपाल सरकारले उनको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको हो। हरेक वर्ष उनको जन्मजयन्तीलाई किराँत समुदायले धार्मिक र सांस्कृतिक धुमधामका साथ मनाउँदै आएका छन्।


















