रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमखोलामा शुक्रबार बिहान भएको फोर्स गाडी दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।
रामेछाप प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहका अनुसार ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, गाडी चालक हिराबहादुर कार्की, गोकुलगंगा–५ की कविता कार्की खड्का र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने अन्य एक अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
गाडी काठमाडौंबाट रामेछाप जाँदै गर्दा बिहान सिमखोलामा दुर्घटनामा परेको थियो। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गाडीमा आठ जना सवार रहेको जानकारी दिँदै पाँच जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएको बताए। घाइतेहरुलाई उद्धार गरी तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।
मृत वडाध्यक्ष रामचन्द्र बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
यस दुखद घटनाले समग्र रामेछाप जिल्लामा शोकको वातावरण सिर्जना गरेको छ। मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरौं।


















