काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (आइतबार) पनि सकिएन । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो । बयान अझै नसकिएकाले भोलि (सोमबार) पनि लिइने भएको छ ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवारसम्म काठमाडौंमा नै रहने भएका छन । बयानपछि  भोलि नै पोखरा फर्काइने छ । शुक्रबार बिहानदेखि सुरू भएको बयान सो दिनको अपरान्ह ३ः३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झण्डै ५ घण्टा बयान दिएका छन ।

उनलाई कठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा बयानका लागि काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात भेटिएका छन् । त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।

यसअघि उनका साझेदार पूर्व डीआइजी छविलाल जोशीसँग बयान लिइएको थियो ।  स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यसमा २४ जना प्रतिवादी छन् । तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन् । यसमा सञ्चालक जीबी राई भने फरार छन् । अहिले सहकारी ठगीबाहेक जीबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ । ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ ।  अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।