काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । आइतबार दिउँसो ४ बजेसम्म समग्रमा ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् । यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।

हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको अर्यालले बताइन् । स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेको वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सबै ठाउँमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो । तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन् । यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।