काठमाडौँ । सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्न परेको छ,’ यादव भन्छन्, ‘२५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी छाडिदिने परम्परा छ ।
अनि कसरी हुन्छ राजस्व सङ्कलन ? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन् ।’बोर्डर छेउका नेपाली बजार सुक्दै गएको तर भारतीय बजार बढ्दै गरेका कारण राजस्व सङ्कलनमा कमी आएको उनले बताए ।


















