एजेन्सी । भारतको बेंगलुरुमा एआई इन्जिनियरले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ। बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ। बेंगलुरुको ह्वाइटफिल्ड डिभिजनका डीसीपी शिवकुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘निकिता सिंघानियालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो। उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजमा पक्राउ गरिएको हो। उनीहरूलाई बेंगलुरु ल्याइएको छ।’

उनीहरूलाई अदालत पेस गरी तीनै जनालाई न्यायिक हिरासतमा पठाइएको छ।मृत्युअघि अतुल सुभाषले २४ पृष्ठको नोट छाडेर एक घण्टा २१ मिनेटको भिडिओ बनाएका थिए।जसमा उनले आफ्नी श्रीमती र परिवारका सदस्यले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्।