गौरः रौतहटको गौरमा दुई समुदायबीच साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा वडाध्यक्षसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक दंगा गराउने मुख्य योजनाकार गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सबगढा क्षेत्रमा सुरु भएको साम्प्रदायिक तनावलाई मत्थर पार्नुको सट्टा भड्काएको आरोप लागेपछि वडाध्यक्ष साहलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष साहलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गरेका छन् ।
यसअघि जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुनः भड्काएर शान्ति सुरक्षामा खलल पु¥याउन मुख्य भूमिका खेलेको आरोपमा जमशैदसहित २० जनालाई रौतहट प्रशासनले नियन्त्रणमा लिएको जनाएको छ ।


















