फिदिमः हिजो साँझ ५ बजे आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–१ शनिबारेस्थित टीकाराम भट्टराईको दुई तले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको छ । जसका कारण १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सात सदस्यीय परिवार हाल सोही स्थानमा पाल टाँगेर बसिरहेको बताइएको छ ।

फिदिम नगरपालिका–१ किराँत चोकका मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलाको टिनको छाना र काठ उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उनको १२ सदस्यीय परिवार भने तल्लो तलामै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

हावाहुरीपछि स्थानीय प्रशासन र प्रहरी टोलीले क्षतिग्रस्त क्षेत्रमा पुगेर आवश्यक अनुगमन तथा समन्वय गरिरहेको जनाइएको छ ।

पाँचथरकै हिलिहाङ गाउँपालिका २ कुवापानी टोलमा पनि केही घरमा क्षति पुगेको छ ।

फिदिम नगरपालिकाका विभिन्न वडा, फालेलुङ गाउँपालिका र याङवरक गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठूलो परिमाणमा घर र विद्यालयमा क्षति पुगेको र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।