इनरुवाः कप्तानगञ्ज घटनापछि स्थिति अझैसम्म पनि सामान्य नभएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार तोकिएको चार किल्ला र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने भएको हो ।

प्रशासनले पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण तर्फ पूर्वपश्चिम राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म सो आदेश जारी गरेको हो ।

त्यस्तै, इनरुवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।