विराटनगरः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश अन्तर्गतका प्रहरी कार्यालय प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाई प्रमुखहरुलाई आज भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनुभएको छ ।

निर्देशनको क्रममा उहाँले प्रहरीले आफ्नो पदीय दायित्व अनुसार त्रुटिरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई व्यावसायिक तवरबाट सामना गर्दै एक निर्भिक, ईमानदार र बफादार राष्ट्र सेवकको रूपमा खटिन, नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा रही व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभएको छ ।

सीमा नाकाहरुमा कडाईका साथ जाँचको व्यवस्था, सवारी दुर्घटना नियन्त्रण, प्रविधिमैत्री तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, प्रभावकारी प्रहरी अनुसन्धान, लागूपदार्थको प्रयोग तथा ओसारपसार नियन्त्रण, गाँजा खेती फँडानी लगायत अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा प्रभावकारी बनाउन पनि खनालले निर्देशन दिनुभएको छ ।

मनसुनजन्य विपदका घटनाहरुमा पूर्व तयारीका साथ जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उद्धार सामग्री सहित तयारी अवस्थामा रहन पनि कोशी प्रदेश प्रहरी प्रमुख खनालले निर्देशन दिनुभएको छ ।

आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित बनाउन समय सापेक्ष अनुशिक्षण, सामुहिक अभ्यास र नियमित रूपमा व्रिफिङ गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ ।

कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचाको लक्ष्य हासिल हुने गरी दैनिक रूपमा प्रहरी कार्यलाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

निर्देशनको क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।