इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतकका बुबा, सौतेनी आमा र दुई काका रहेका छन् । उनीहरुलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
बुधबार सरोजको शव मावली पक्षलाई जानकारी नै नदिई दाहसंस्कार गर्न लागिएको भन्दै उनका साथीहरू र विद्यार्थीहरूले विरोध जनाएका थिए । उनीहरूले सरोजलाई परिवारकै शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै शव नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धानको मागसहित आन्दोलन सुरु गरेका थिए ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरोज बस्दै आएको घर घेराउ गर्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए । आन्दोलन चर्किएपछि प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकालाई पक्राउ गरेको हो । त्यसपछि शवलाई थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको थियो ।
बुधबार साँझ विद्यार्थीहरूले श्रद्धाञ्जली र्याली तथा कोणसभा आयोजना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग दोहोर्याएका थिए । उनीहरूले सरोजको आँखामा स्पष्ट चोट देखिएको भए पनि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले त्यसतर्फ चासो नदेखाएको र आन्दोलनपछि मात्र पक्राउ प्रक्रिया अघि बढाएको भन्दै प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
बिहीबार पनि विद्यार्थीहरूले इटहरीको मुख्य चोकमा प्रदर्शन गर्दै सरोजलाई न्याय दिन, पक्राउ परेकाहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन तथा निष्पक्ष अनुसन्धान गर्न माग गरेका थिए ।
विद्यार्थीहरूले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर घटनामा दोषीमाथि कडा कानुनी कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
मेयर पौडेलले सरोजको मृत्यु दुःखद भएको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामा आफूबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाबु र सौतेनी आमाको व्यवहार जानेका विद्यार्थीले घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।


















