गौरादहः पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजना तथा केन्द्रीय कार्यसमितिको सहजीकरणमा ‘ट्रेन पहिलो पाइला’ तथा नवआगन्तुक स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्णबहादुर राउत प्रमुख अतिथि र गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेशकुमार राजवंशी विशिष्ट अतिथि रहनुभएको थियो ।
वडाध्यक्ष राजवंशीले वडा र संस्थाबीचको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षकहरू नारायण बस्नेत, सम्झना अधिकारी अग्रवाल, सन्तोष बन्जाडे र खेमराज सापकोटाले सहजीकरण गर्नुभएको थियो । प्रस्तावित कमल शाखाका सदस्यहरूले नृत्य प्रस्तुत गरेका थिए भने अतिथिहरूले गजल वाचन पनि गर्नुभएको थियो ।

















