इटहरी । नागरिक समाज इटहरीको अध्यक्षमा द्रोण न्यौपाने चुनिएका छन् । इटहरीमा भएको नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्षसहित नयाँ कार्यसमिति घोषणा गरिएको हो । 

समाजको उपाध्यक्षमा भोलाकाजी बस्नेत, गंगा आचार्य घिमिरे र सुरेन्द्र तामाङ चयन भएका छन् । महासचिवमा लक्ष्मी थेबे र सचिवमा तेज दाहाल चयन भएका छन् । 

त्यसैगरी सदस्यहरूमा अनन्त विष्ट, उर्मिला कट्वाल, सुमित अधिकारी, पुन्यप्रभा गुरागाई, राजेन्द्र बास्तोला, प्रदिपकुमार रेग्मी, हिमाल दाहाल, बिनोद देवान, राम खड्का, डिसी चौधरी, नेटवर राठी, गंगा कार्की पौडेल, दिनेश कोइराला, डम्बर तामाङ र सुभाष गौतम रहेका छन् ।

कार्यक्रमको अवसरमा समाजले प्रकाशन गरेको नागरिक सन्देश २ विमोचन समेत गरिएको थियो । जसमा इटहरीको इतिहास, वर्तमान अवस्था र भावी सम्भावना तथा योजनाका विषयमा विभिन्न विषयका लेख रचनाहरू समावेश गरिएको छ । 

कोशी प्रदेशका भौतिक तथा पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष आरके राइले जेनजी आन्दोलन जस्तो जटिल समयमा इटहरीलाई एकताबद्ध गर्ने कार्यमा नागरिक समाजले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै सो समयमा आफूलाई विश्वास गरेर सहयोग गर्ने सबैमा धन्यवाद दिए । 

कार्यभार सम्हालेका अध्यक्ष द्रोण न्यौपानेले आफूले इटहरीको विकासमा सबैलाई एकजुट गराएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समाजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेल,  तथा पुस्तकका सम्पादक प्राध्यापक डाक्टर मोहन तुम्बाहाम्फे लगायतले कार्यक्रममा आफ्नो विचार राखेका थिए ।