इटहरी । शिक्षा हासिल गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई पढाइसँगै सीप, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा भएको श्रम रोजगार मेलाको अवलोकन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।

विद्यार्थीले पढाइसँगै विभिन्न सीप सिक्नुपर्ने र नयाँ प्रविधि तथा वस्तुको विकास गर्न सक्ने वातावरण शैक्षिक संस्थाले तयार गर्नुपर्ने उनको भनाइ थियो ।

विश्वविद्यालय तथा कलेजमा नवप्रवर्तन केन्द्र स्थापना गरी आवश्यक उपकरण तथा स्रोतसाधनको व्यवस्था गर्नु पर्नेमा मन्त्री पुनले जोड दिए । ठाउँ मात्र उपलब्ध गराएर नवप्रवर्तन सम्भव नहुने भन्दै त्यसका लागि आवश्यक उपकरण र सामग्रीको समेत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालमा नवप्रवर्तनका काम गर्न विभिन्न कठिनाइ रहेको उल्लेख गर्दै मन्त्री पुनले विद्यार्थीलाई पठनपाठनसँगै अनुसन्धान तथा आविष्कारमा सहभागी गराउन शैक्षिक संस्थालाई आग्रह गरे ।
नेपालमा उपलब्ध जडीबुटीको अध्ययन, अनुसन्धान तथा प्रयोगका लागि आवश्यक प्रयोगशाला निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउदै नेपालमा प्रशस्त जडीबुटी भए पनि त्यसको वैज्ञानिक अनुसन्धान तथा प्रयोगका लागि पर्याप्त पूर्वाधार नभएको पुनको भनाइ थियो ।