चक्रघट्टीः सुनसरीको वराहक्षेत्र नगरपालिकाले चक्रघट्टीस्थित नगरपालिकाको कार्यालयबाट भूमि प्रशासन (मालपोत र नापी) सेवा शुरु गरेको छ ।

यसअघि ती कार्य इनरुवा र धरानबाट हुँदै आएका थिए । वराहक्षेत्र नगरपालिकाले नगरपालिकाको कार्यालयमा भूमि व्यवस्थापन शाखामार्फत औपचारिक रूपमा ती सेवा सञ्चालनमा ल्याएको हो । नगर प्रमुख रमेश कार्कीको सभाअध्यक्षतामा आयोजना भएको औपचारिक कार्यक्रमसँगै भूमि प्रशासन सेवाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, भूमि प्रशासन कार्यालय सुनसरीका प्रमुख ओमकारप्रसाद न्यौपाने, नापी कार्यालय इनरुवाका प्रमुख नापी अधिकृत सञ्जीवकुमार राउत, भूमि प्रशासन कार्यालय धरानका प्रमुख अम्बिकाप्रसाद चौलागाईको उपस्थिति थियो ।

हिजो भएको सो कार्यक्रममा जनप्रतिनिधिहरु, राजनैतिक दलका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारी र कर्मचारीहरुको कार्यक्रममा उपस्थिति थियो ।
भूमि व्यवस्थापन शाखाबाट सेवाग्राहीहरुले भू –संशोधन नियमावली २०८३ अनुसार नक्सा प्रिन्ट, कित्ताकाट, फिल्ड रेखांकन, कित्ता एकीकरण, नक्सा अद्यावधिकलगायतका सेवा प्राप्त गर्न सक्नेछन् । यससँगै जग्गा रजिस्ट्रेसन (पास), नामसारी, दाखिल–खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा, जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण, भू–उपयोग क्षेत्र वर्गीकरण, राजीनामा, हकहिस्सा, दानपत्र, बकसपत्र, अंशवण्डा, अंशभरपाई, दृष्टिबन्धकी, घर कायम तथा नक्सा प्रमाणित प्रतिलिपि वितरणजस्ता भूमि प्रशासनसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध हुने भएको छ ।

सेवा शुभारम्भकै दिन वडा नम्बर ५ का टेकबहादुर सुवेदी र धरान उपमहानगरपालिका वडा नं ५ की कोपिला पौडेलले पहिलो सेवाग्राहीका रूपमा जग्गा खरिदसम्बन्धी लिखत पारित (जग्गा पास) गर्नुभएको थियो ।