काठमाडौं । एनपीएलको साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आज भएको खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सकेको हो ।
लुम्बिनीले यस सिजनमा खेलेको तीनवटै खेलमा जीत हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको थियो । जनपकपुरलाई हराएपछि लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ ।
पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई अब खेल्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ ।
जनकपुरका कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का गर्नुका साथै सर्वाधिक ३३ रन बनाए । आदित्यले २३ बल खेल्दै ४ चौकाको मद्दतमा अविजित ३० रन बनाए ।
बंगलादेशी खेलाडी सेफ हसनले २५ बल खेल्दै ४ चौकाको मद्दतमा सर्वाधिक २८ रन तथा ओपनर तृतराज दासले १८ बल खेल्दै १ चौकाको मद्दतमा १८ रन बनाए ।
परभेज हवसेन इमोन १, विशाल सुशिलङ ४, अनिल शाह १, जिमी निशम ९ रन बनाएर आउट भए भने अभिषेक तिवारीले भने रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि बलिङमा डार्शी सर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ रन जोडे ।
आसिफ शेख र दिलिप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए ।
रुबेन ट्रम्पलम्यानले १५ रन बनाए । सन्दीप जोरा ९ रन बनाएर आउट भएका थिए ।


















