काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लुम्बिनी लायन्सले लिगको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गरेपछि लुम्बिनीले १ बल बाँकी छँदै १६७ रनको लक्ष्य पूरा गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको जीतमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए । सन्दीप जोराले ११ बलमा अविजित २५ रन जोड्दा अली शेखले १९ बलमा २७ रन बनाए ।

लुम्बिनीले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको थियो । शर्ट र आसिफले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । उनीहरूले ११.५ ओभरसम्म विराटनगरका बलरलाई विकेट लिन दिएनन् । शर्ट ३८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर चरित असलंकाको बलमा आउट भए । 

त्यसपछि विराटनगरले लगातार दुई विकेट लिँदै खेलमा फर्कने संकेत गरेको थियो । निरोशन डिकवेला र दिलीप नाथ खाता नखोली आउट भए । दुवैलाई अप्राजित पौडेलले लगातार आउट गरेका थिए । १२.४ ओभरमा डिकवेला आउट भए भने त्यसको अर्को बलमा नाथ पनि आउट भए ।

आसिफले एक छेउ सम्हालिरहेका थिए । तर १३.५ ओभरमा उनी ४५ रन बनाएर रनआउट भए । त्यसबेला लुम्बिनीको स्कोर ९१ रन थियो । त्यसपछि कप्तान रोहित पौडेलले ९ रन बनाएर रनआउट हुँदा लुम्बिनी १२० रनमा ५ विकेट गुमाउने अवस्थामा पुग्यो ।

अली शेख र सन्दीप जोराले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गर्दै लुम्बिनीलाई जीतनजिक पुर्याएका थिए । अली १९ बलमा २७ रन बनाएर १९.४ ओभरमा आउट भए । त्यसबेला लुम्बिनीलाई २ बलमा ५ रन आवश्यक थियो ।

अन्तिम ओभरमा लुम्बिनीलाई जीतका लागि १६ रन चाहिएको थियो । विराटनगरका रुपेश सिंहले बलिङ गरेको ओभरको पहिलो बलमा अली शेखले छक्का प्रहार गरे । उक्त बल नो बलसमेत भएपछि लुम्बिनीले एकैपटक सात रन जोड्यो । फ्रि हिटमा अलीले दुई रन लिएका थिए ।

त्यसपछि पाँच बलमा सात रन आवश्यक हुँदा अलीले एक रन लिए । सन्दीप जोराले अर्को बलमा एक रन जोडेपछि लुम्बिनीलाई तीन बलमा पाँच रन चाहियो । त्यसपछि अली शेखले प्रहार गरेको बल क्याच भएपछि लुम्बिनी दबाबमा परेको थियो । दुई बलमा पाँच रन आवश्यक रहेको अवस्थामा क्रिजमा आएका ट्रम्पलम्यानले अन्तिमभन्दा अघिल्लो बलमै छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका लागि चरित असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । शुभम् रन्जनेले २४ बलमा अविजित ३१ रन बनाए ।

इमरान शेखले २९ बलमा २४ रन बनाएका थिए । उनी रन लिने क्रममा खुट्टामा समस्या आएपछि रिटायर्ड हर्ट भएका थिए  । लोकश बमले १५, इसुरु उडानाले ६ र बासिर अहमदले अविजित ६ रन बनाए ।

विराटनगरले पहिलो विकेटका रूपमा लोकशलाई ३३ रनको अवस्थामा गुमाएको थियो । त्यसपछि इमरान र असलंकाले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । असलंकाले १८ औँ ओभरको अन्तिम बलमा विकेट गुमाउँदा विराटनगर १४५ रनमा पुगेको थियो । 

लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १ विकेट लिए । विराटनगरका अप्राजित पौडेलले लुम्बिनीको इनिङ्समा २ विकेट लिए ।

यो जीतसँगै लुम्बिनीले शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का गरेको छ । लिग चरणमा ७ खेलबाट ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ । 

यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । लुम्बिनीको जीत र विराटनगरको हारसँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेका छन् ।

यससँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम, लुम्बिनी, काठमाडौं र चितवन अन्तिम चारमा पुगेका छन् । विराटनगरसँगै कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको यात्रा लिग चरणमै समाप्त भएको छ ।

अब लिग चरणका खेलपछि शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

प्रतियोगिताअन्तर्गत लिग चरण आज समाप्त हुँदैछ । आइतबार दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच तथा बेलुका ५ बजे पोखरा एभेञ्जर्स र काठमाण्डु गोर्खाजबीच खेल हुनेछ ।