इटहरी ।   तिहारपछिको हिजो भएको पहिलो कारोबार दिनमा शेयरबजारले सकारात्मक लय समात्न सकेन । लगानीकर्ताको सक्रियता अपेक्षाकृत कमजोर देखिँदा नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३५ कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता शेयर ३१ हजार ३२३ पटक किनबेच हुँदा ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँको शेयर किनबेच भएको छ ।

व्यापार समूहको सूचक स्थिर बनेको बजारमा चार समूहको सूचक बढ्दा आठ समूहमा गिरावट आएको छ ।

निर्जीवन बीमा समूह सर्वाधिक ०.३३ प्रतिशतले बढेको छ । जलविद्युत् समूह ०.२७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२४ प्रतिशत र विकास बैंक समूह ०.०४ प्रतिशतले बढेका छन् ।

अन्य समूह सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत, जीवन बीमा समूह ०.६७ प्रतिशत, वित्त समूह ०.४७ प्रतिशत, लघुवित्त र म्युचुअल फन्ड समूह समान ०.४३ प्रतिशतले घटेका छन् । बैंकिङ समूह ०.२३ प्रतिशत र लगानी समूह ०.२२ प्रतिशतले घटेका छन् ।

हिजो श्वेतगंगा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७.५६ प्रतिशतले सम्पत्ति कमाएका छन् । सामलिङ पावरको शेयरमूल्य ५.८७ प्रतिशत, एशियन हाइड्रोपावरको ५.२६ प्रतिशत, बेनी हाइड्रोपावरको ३.९३ प्रतिशत र सुपर फार्मास्युटिकल्सको ३.४५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ९.५६ प्रतिशतले सम्पत्ति गुमाउँदा घोराही सिमेन्टको शेयरमूल्य ७.८७ प्रतिशत, सनराइज ब्लुचिप फन्डको ५.५३ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ४.९५ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको ४.९२ प्रतिशतले घटेको छ ।

घोराही सिमेण्टको सर्वाधिक ४० करोड ७ लाख ४२ हजार ३७९ रुपैयाँको शेयर किनबेच भएको छ ।

सानिमा माइ हाइड्रोपावर, श्वेतगंगा हाइड्रो, शिवम् सिमेण्ट र ग्लोबल आइएमई बैंक उच्च कारोबार हुने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब ७० करोड ५७ लाख ६८ हजार ८७८ रुपैयाँ कायम भएको छ ।