इटहरी । मोरङको सुन्दरहरैँचा ५ स्थित भानु साझा पुस्तकालयको आयोजनामा साहित्यकार पुरन याक्खाद्वारा लिखित तीनवटा साहित्यिक कृतिको एकैसाथ विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कवि तथा साहित्यकार मनु मञ्जिल, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार बम देवानलगायत साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुरन याक्खाद्वारा लिखित कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ माथि विमर्श गरिएको थियो ।
‘चर्किएको सिसाभित्र’ माथि विमर्श
‘चर्किएको सिसाभित्र’ १०३ वटा कविता रहेका छन् । कृतिमाथि प्राज्ञ डा. अस्मिता विष्टले विमर्श गर्दै शीर्षकले नै पाठकमा कौतूहल र चासो उत्पन्न गर्ने बताइन् । कविको जीवनमा देखिएका र भोगिएका विषयवस्तु समाजका ऐनाका रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उनले यस कृतिमा समाजका विभिन्न पक्ष टुक्रिएको सिसाभित्रको प्रतिबिम्बझैँ देखिएको धारणा राखिन् ।
सङ्ग्रहमा मध्यम, लामा तथा छोटा आकारका कविता समेटिएका छन् । वातावरणीय क्षय, सामाजिक द्वन्द्व, भुइँमान्छेका पीडा, सामाजिक चिन्तन, युवा पुस्ताका भावना, बिछोड र प्रेमका विषयवस्तु कवितामा अभिव्यक्त भएको उनले बताइन् । कवितामा सरलता र जीवनका विविध अनुभूति पाइने उनको भनाइ थियो ।
कार्यक्रममा सो कृतिभित्रबाट हीरा खड्का अधिकारीले ‘टोटलाको फूल’, कवि भरत बर्बरिकले ‘कवि रोएको बेला’ र हेमन यात्रीले ‘राग’ शीर्षकका कविता वाचन गरेका थिए ।
‘तिमी बिनाको जिन्दगी’ माथि विमर्श
याक्खाकै अर्को कृति गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ माथि पनि विमर्श गरिएको थियो । सो पुस्तकमाथि सर्जक जेबी थुलुङले चर्चा गरेका थिए । यस सङ्ग्रहमा २०३१÷३२ सालतिर सिर्जना गरिएका सहित १०१ वटा गीत समेटिएका छन् । गीतहरूमा ग्रामीण परिवेश, प्रेम, सरल जीवनशैली, सामाजिक व्यङ्ग्य, द्वन्द्व, गरिब युवाका सपना तथा परदेशी जीवनका पीडा चित्रण गरिएको छ । विशेषगरी लाहुर तथा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू र विदेशको रमझममा हराउँदाका अनुभूतिलाई गीतमा समेटिएको छ । पञ्चायतकालीन समयमा सिर्जना गरिएका गीतमा तत्कालीन शासकविरुद्धका आवाजसमेत अभिव्यक्त भएको परिचर्चाकार थुलुङले बताए ।
सङ्ग्रहमा रहेको ‘तिम्रो मुस्कानको हाँसो’ बोलको गीत गायक दुर्गा पराजुलीको स्वरमा रेकर्ड भई युट्युबमार्फत् सार्वजनिकसमेत भइसकेको छ । पराजुलीले सोही गीत गाउनुभएको थियो । कार्यक्रममा नवराज नवशिला र किरण टी. लिम्बूले कृतिभित्रका एकएक वटा गीत प्रस्तुत गरेका थिए ।
‘पलाँसको फूल’ माथि विमर्श
याक्खाकै अर्को गजल सङ्ग्रह ‘पलासको फूल’ माथि समीक्षक तथा गजलकार विवश बलिभद्र कोइरालाले विमर्श गरेका थिए ।
विमर्शका क्रममा पलाँस शब्द आफैँमा उपेक्षित र प्रतीकात्मक अर्थ बोकेको शब्द भएको चर्चा गरिएको थियो । सङ्ग्रहमा ७३ वटा गजल समेटिएका छन् । गजलहरूमा प्रेम, शृङ्गारिक भाव तथा जीवनका विविध अनुभूतिहरू अभिव्यक्त भएका छन् । काफियाको प्रयोग र गजलका शेरमा पाइने फरक–फरक विशेषताले कृतिलाई विविधतायुक्त बनाएको समीक्षात्मक धारणा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रूपनारायण श्रेष्ठले सङ्ग्रहमा रहेको ‘कति रेटुँ जिन्दगी....’ बोलको गजल वाचन गरेका थिए । त्यसैगरी रमेश निरौलाले ‘जताजता बग्छौ तिमी त्यतै हुन्छु म...’ बोलको गजल प्रस्तुत गरेका थिए ।
साहित्यकारका शुभकामना तथा धारणा
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भानु साझा पुस्तकालयका सल्लाहकार राजकुमार तामाङले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पठन संस्कृतिमा असर परेको चर्चा गरेता पनि एकैसाथ तीनवटा पुस्तक विमोचन हुनुले अझै पनि पुस्तक पढ्ने र साहित्यप्रति रुचि राख्ने पाठकहरूको उपस्थिति रहेको सन्देश दिएको बताए ।
वरिष्ठ साहित्यकार बम देवानले साहित्यलाई लेखक र पाठकबीचको सिर्जनात्मक खेलका रूपमा व्याख्या गरे । तीनवटै कृतिको महत्त्वमाथि चर्चा गर्दै कविताले पाठकलाई आनन्दित बनाउने र कविता कृति अध्ययनले जीवनलाई सुन्दर बनाउने उनले धारणा राखे ।
कविता सङ्ग्रहका लेखक पुरन याक्खाले आफ्नो लेखकीय मन्तव्य राख्दै आफूले जीवनमा भुइँमा पोखिएका अनुभूति, गोठालो गर्दाका अनुभव, पहाडको परिवेश तथा सुखदुःखका विषयलाई सिर्जनामा समेटेको बताए । साहित्यप्रतिको रुचिका कारण साहित्यकारहरूसँग नजिकिने र साहित्यिक गतिविधिमा सहभागी हुने आफ्नो चाहना रहेको उनले उल्लेख गरे । करिब ५० वर्षअघि सिर्जना गरिएको गीत हालै मात्र रेकर्ड हुन सकेको प्रसङ्ग पनि उनले सुनाए ।
प्रमुख अतिथि मनु मञ्जिलको मन्तव्य
प्रमुख अतिथि साहित्यकार मनु मञ्जिलले एकैसाथ तीनवटा साहित्यिक कृति सार्वजनिक हुनु आफैँमा महत्त्वपूर्ण र प्रशंसनीय काम भएको बताए ।
कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’ माथि टिप्पणी गर्दै उनले जीवनका टुक्राटुक्रा अनुभूतिलाई चर्किएको सिसाभित्र देखाउने प्रयास लेखकले गरेको बताए । कृतिमा भावना, माया, उदासी, आँसु र आक्रोशका विभिन्न स्वरूप भेटिने उल्लेख गर्दै उनले यसभित्र धेरै राम्रा कविताहरू रहेको धारणा राखे ।
विशेषगरी २०५९\६० सालतिरको सामाजिक परिवेश तथा द्वन्द्वकालीन समयका घटनाहरूको चित्रणसमेत कवितामा भेटिने उनले बताए । जीवन र समाजका विविध पक्षलाई साहित्यिक अभिव्यक्तिमार्फत प्रस्तुत गर्न लेखक सफल भएको उनको भनाइ थियो ।
कार्यक्रममा पुस्तकालयका साहित्यिक सचिव विशाल गुरागाईंले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व पुस्तकालयका उपाध्यक्ष लोकबहादुर मोक्तानले गरेका थिए ।
















