विराटनगर । मोरङका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब साढे सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका सात लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका सामान शुक्रबार बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म रानी, बीओपी दरैया, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको संयुक्त टोलीले ती सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमा एक थान सिटी सफारी, एक थान स्कुटर, ६ वटा साइकल, कस्मेटिक सामग्री, हरियो तरकारी, दुई वटा पाडा र एउटा खसी रहेका छन् ।
बरामद गरिएका सवारी साधन, सामान तथा चौपाया आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


















