इटहरीः नियमित महाधिवेशन पक्षधर (देउवा पक्षीय) नेपाली कांग्रेसले इटहरी उपमहानगरदेखि वडासम्म नयाँ नेतृत्व चयन गरेको छ । इटहरीस्थित राधाकृष्ण मन्दिरको सभाहलमा आज सम्पन्न नगर अधिवेशनबाट सन्तोष कार्की नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले नगर उपसभापतिमा अञ्जन तामाङ र पेशला अधिकारी तथा सचिवमा घनश्याम बराललाई चयन गरेको छ । सहसचिवमा दीपक गौतम र महिला सहसचिवमा सीता पुरी सर्वसम्मत निर्वाचित भएका छन् ।
नगर कार्यसमितिसँगै इटहरीका २० वटै वडाका सभापति तथा सदस्यहरू चयन गरी प्रमाणपत्र वितरण गरिएको जिल्ला संयोजक एवम् कार्यक्रमका प्रमुख अतिथि सन्दीप श्रेष्ठले जानकारी दिए ।
वडा नम्बर १ को सभापतिमा खगेन्द्र राई, २ मा मञ्जु पराजुली, ३ मा गणेश दाहाल, ४ मा सुनील तिम्सिना, ५ मा यादव श्रेष्ठ, वडा नम्बर ६ को सभापतिमा बबलु कर्ण, ७ मा बाङ्दी शेर्पा, ८ मा सूर्यनारायण शाह, ९ मा ज्ञानेन्द्र भण्डारी, १० मा देवी बराल, ११ को सभापतिमा अब्दुल जाकिर, १२ मा राजकुमार सरदार, १३ मा रूपादेवी ढुङ्गाना, १४ मा विक्रम मगर, १५ मा जितेन्द्र सरदार चयन भएका छन् ।
त्यसैगरी वडा नम्बर १६ मा अनुराग कार्की, १७ मा गौरव चौधरी, १८ मा योगराज ओझा, १९ मा रामकुमार सरदार र २० मा कमलप्रसाद दाहालले वडा सभापतिको जिम्मेवारी पाएका छन् ।
नवनिर्वाचित अधिकांश वडा सभापति तथा नगर प्रतिनिधि यसअघि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रियामा विभिन्न पदका आकांक्षी रहे पनि अवसर नपाएका व्यक्ति हुन् ।
















