इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिनुभएको छ ।
आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्व सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित विशिष्ट पर्व भएको बताउँदै यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत उजागर गर्ने उहाँले शुभकामना सन्देशमा बताउनुभएको छ ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको समाजमा छठले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावनालाई बलियो बनाउँदै आएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
मौलिक चाडपर्व सामाजिक तथा सांस्कृतिक पहिचानका अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले प्रदेशभित्रका सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेश स्थापनाकालदेखि नै विभिन्न समुदायका मौलिक चाडपर्व र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि सरकारले पहल गर्दै आएको र आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भावको प्रवद्र्धन र समावेशी समाज निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।
छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै शान्तिपूर्ण, समृद्ध र समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभएको छ ।


















